गुल्मीमा नेपालमै पहिलो कफी अनुसन्धान कार्यक्रम

img1
विशाल भट्टराई
 
कफी खेती सुरुवात भएको ७७ बर्ष पछि जिल्लामा नेपालमै पहिलो पटक कफी अनुसन्धान कार्यक्रम सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत बुधबार पहिलो पटक कफी अनुसन्धान कार्यक्रमवको उद्घाटन भएको हो । जिल्लाको बलेटक्सार गाविस–१ भण्डारीडाँडामा मुख्य सचिव लिलामणी पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । कफी खेतीको सुरुवात भएको लामो समयपछि सरकारी तबरबाट अनुसन्धानका लागि कार्यक्रम सुरु भएपछि कफी किसानहरुपनि खुसी भएका छन् । कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सरकारी कार्यक्रमलाई आफूहरुकै जस्तो गरेर सघाउन कृषकहरुलाई आग्रह गरेका छन् । 
 
‘अबको १ दुई बर्षमै यहाँ कृषिका अनुसन्धानकर्ताहरु र बिद्यार्थीहरुलाई हरियाली कफी बगैचामा काम गरेको देख्न पाउँ’ उनले किसानसँग अपेक्षा प्रकट गरे ‘सरकारी कार्यक्रम भनेर असहयोगको वातावरण सिर्जना नगर्नुहोला ।’ बलेटक्सारको १ सय रोपनी क्षेत्रफलमा उक्त कार्यक्रम सुरु भएको हो । साथै उनले उक्त क्षेत्रमा केहि जग्गा सुकुम्बासीको नाममा आफ्नो बनाएका ब्यक्तिहरुको दुषित दर्ता खारेज गराउन समेत मालपोत अधिकृतलाई निर्देशन दिएका छन् ।
 
सरकारले गुल्मीबाट कफी खेतीको सुरुवात भएको कुरालाई दृष्टिगत गर्दै यहाँ कृषि अनुसन्धान कार्यक्रम सुरुवात गरेपछि अब देशभरको कफीको अनुसन्धान गुल्मीबाट हुने छ । देशका सम्पूर्ण जिल्लामा भएको कफीको गुणस्तर तथा उत्पादनका लागि पायक पर्ने नपर्ने बिषयमा पनि कृषि अनुसन्धा कार्यक्रमले सिफारिस गर्नुपर्ने प्राबधान हुने मुख्य सचिव पौडेलले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीका अनुसार सुरुमा भौतीक संरचना तथा सिँचाईको लागि नार्कले यो कार्यक्रम डेढ करोडको लागानीबाट सुरुवात गर्ने भएको छ । 
 
पहिलो बर्षनै कार्यालय संचालनका लागि भवनहरुको समेत निर्माण हुने नार्कले जनाएको छ । नार्कका कार्यकारी निर्देशक दिलबहादुर गुरुङले मुख्य सचिवको निर्देशन अनुसार एकदमै सस्तोमा स्थानीय स्रोत र साधनको प्रयोग गरेर भौतिक संरचनाहरु बनाउने पनि जानकारी दिएका छन् । जिल्लाका ३२ वटा गाविसमा अहिले कफी खेती हुन्छ भने जिल्लामा १६ सय ८० जना कफी  किसान छन् । सोही कार्यक्रम उद्घाटनको अवसरमा मुख्यसचिव पौडेल सहितका अतिथिले भण्डारीडाँडामा कफी रोपेका थिए भने स्थानीयले कफीको दानाबाट बनाएको माला लगाईदिएर सम्मान गरेका थिए ।