स्वास्थ्यमा अख्तियारको छापा

विशाल भट्टराई
गुल्मी, साउन १५
 
जिल्ला स्वास्थ्य कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले छापा मारेको छ ।
 
स्वास्थ्य कार्यालयका विभिन्न बिषयमा सर्बसाधारणको उजुरी परेपछि अख्तियारले बिहिबार छापा मारेको हो । अख्तियारले जिल्ला स्वास्थ्य कार्यालयबाट बिभिन्न किसिमका कागजातहरु नियन्त्रणमा समेत लिएको छ । अख्तियार दुरुपयोग अुनसन्धान आयोग पोखराका लेखा अधिकृत तोया शर्मा सहितको टोलीले स्वास्थ्यमा छापा मारेको हो ।
 
फिल्डमा खटिनुपर्ने कर्मचारीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले काजमा राखेको गुनासो आएपछि आफूहरुले स्वास्थ्य कार्यालयमा छापा मारेर केहि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका लेखा अधिृकत शर्माले बताउनुभयो ।
 
फिल्डका कर्मचारी काजमा राखेर ग्रामीण स्वास्थ्यलाई प्रभाव पारेको उजुरी परेको अख्तियारले जनाएको छ । उनले जिल्ला स्वास्थ्य कार्यालयबाट सोही बिषयसँगै कर्मचारी भर्ना प्रक्रिया, औषधी खरिद प्रक्रिया, कार्यालय संचालन तथा काजका सम्पूर्ण कागजपत्रहरु नियन्त्रणमा लिएको शर्माले बताउनुभयो ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख मुकुन्दराज पन्थीले सम्पूर्ण कागजपत्रहरुलाई अख्तियारको कार्यालयमा अध्ययन गरेपछि बाँकी कारबाही अगाडि बढ्ने बताउनुभयो । उनले गुल्मीका अरु थुप्रै बिषयमा पनि अख्तियारमा उजुरी परेको उहाँले जानकारी दिनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शुरेस नेपालले भने अख्तियारको टोली आएर फर्किएको मात्रै बताउनुभयो ।