बढ्दै अपराधका घटना

img1
विशाल भट्टराई
गुल्मी, साउन ५
 
अघिल्लो आर्थिक बर्षको तुलनामा यो बर्ष अपराधका घटना बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार गरेको पत्रकार सम्मेलनमा अपराधका घटना बढेको देखिएको हो । अघिल्लो आर्थिक बर्ष ३ जना माथी मात्रै जबरजस्ती करणी भएकोमा आर्थिक बर्ष २०७०÷७० मा त्यो सख्या १७ पुगेको छ । अरु २२ वटा संगिन मुद्धा प्रहरीमा दर्ता भएका छन् । प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले अपराध बढेको नभएर जनचेतना बढेको बताउँछन् । ‘पहिले पहिले गाउँघरमा यस्ता जघन्य किसिमका घटनाहरुपनि गुप चुपमै मिल्थे’, उनले भने ‘पछिल्लो समय बिस्तारै मानिसहरुमा चेतना बढ्दै गएकोले यस्तो भएको हो ।’
 
अघिल्लो आर्थिक बर्षको तुलनामा २०७०÷७१ मा जिल्ला प्रहरी कार्यालयमा २५ वटा निबेदन पनि बढी दर्ता भएका छन् । २५ ले बढेर १ सय ७६ वटा मुद्वा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले एक बर्ष सम्म गरेको प्रगति बिबरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । यस्ता हिंसा जन्य घटनाहरुको जड घरेलु मदिरा भएकोले आफूहरु अपराध नियन्त्रणको लागि घरेलु मदिरा पनि नियन्त्रणको अभियानमा जुटेको उनको भनाई छ । प्रहरीले भर्खरै सकिएको आर्थिक बर्षमा १७ हजार १ सय ४० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । 
 
मादक पदार्थ सेबन गरेर हो हल्ला गर्ने ५३ जना प्रहरीको कारबाहीमा परेका छन् । उनीहरुले जनही एक हजारका दरले राजश्व तिरेको प्रहरीले जनाएको छ । प्रहरीले आर्थिक बर्षको अन्त्य सम्ममा ७७ जना फरार अपराधी पक्राउ  गरेको छ । प्रहरी नायव उपरिक्षक लम्सालले ती मध्ये ९ जना कारागार चलान भएको र अरु ६८ जना अदालतले तोकेको जरिवाना तिरेर रिहा भएका छन् । सोही आर्थिक बर्षमा एक थान पेस्तोल र १२ राउण्ड गोलि सहित तीन जना पक्राउ परेका छन् । द्वन्द्वकाल समाप्त भएपछि जिल्लामा पेस्तोल सहित मान्छे पक्राउ परेको यो पहिलो पटक हो ।