तीन महिना सडक बन्द हुने

 

घनश्याम गौतम
गुल्मी, वैशाख १६
 
साँघुरो सडक भएकै कारण बर्षौं देखि सवारी संचालनमा समस्या हुने गरेको रिडी रुद्रवेणी वामीटक्सार सडकको रिडी रुद्रवेणी खण्डमा नेपाली सेनाले हिजो देखि काम शुरु गरेको छ । नेपाली सेनाको हर्मिचौर पूर्तिघाट सडक निर्माण कार्यदलले सोमबार देखि बिस्फोटनका काम शुरु गरेको हो । निर्माण कार्यको गुल्मीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले हिजो दिउसो संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
 
५ करोड लागतमा शुरु भएको साँघुरे खण्डको साढे दुई किलोमिटर कडा चट्टान फुटाउन सेनाले कम्तिमा ३ महिना लाग्ने जनाएको छ । हिजो रुद्रवेणीमा भएको सर्वपक्षिय छलफलले सेनालाई निर्बाध रुपमा सडक निर्माणका लागि सहयोग पु¥याउन तिन महिना सडकमा सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय समेत गरेको छ । जेठ १ गते देखि पूर्ण रुपमा सवारी संचालन बन्द हुने रिडी रुद्रवेणी खण्डमा आज देखि नै बिहान ११ बजे देखि १ बजेसम्म दुई घण्टा र साँझ ७ बजे देखि ९ बजे सम्म दुई घण्टा गरी दैनिक ४ घण्टा सवारी संचालन हुन पाउने छन् ।
 
जेठ १ गते देखि भने पूर्ण रुपमा बन्द गरेर सडक माथिको कडा चट्टान फुटाउन बम बिस्फोटनका काम शुरु हुने प्रमुख सेनानी भट्टराईले बताउनु भयो । बम बिस्फोटन शुरु भएपनि सडकमा जतिसुकै अप्ठ्यारो आईपरेपनि सवारी संचलान गर्न नसकिने भट्टराईले जानकारी दिनु भएको छ । उहाँले सेनाले सकेसम्म सडक दशैं अगाडी नै निर्माण सम्पन्न गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने गरी सेनाले काम गर्ने जानकारी दिनु भएको छ ।
 
सडकको निर्माण कार्य शुभारम्भको लागि गुल्मीका राजनीतिक दलका प्रतिनिधिहरु नेपाली कांग्रेसका सचिव विष्णुप्रसाद बलाल, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, एमाओवादीका जिल्ला सदस्य अशोक थापा, राप्रपाका सभापति भरतबहादुर चन्द, नेकपा माओवादीका जिल्ला अध्यक्ष बिरबहादुर कार्की, अखण्ड नेपाल पार्टीका नेत्रबहादुर बस्नेत, नेपाल परिवार दलका पशुपति पाण्डे, कालिगण्डकी कोरिडोरका प्रवक्ता टिकाराम ढकाल, पूर्व जिविस सभापति कोशल पोखरेल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघका सल्लाहकार घनश्याम गौतम, पत्रकार महासंघका उपाध्यक्ष भरत पाण्डे, पत्रकार गणेश सारु, सुशिल श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति पारिश्वर ढकाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, जिल्ला इन्जिनियर लालु गिरी, जिविस सामाजिक विकास अधिकृत बिनोद मरासिनी लगायतको टोली रुद्रवेणी पुगेको थियो ।
 
त्यस्तै रिडी रुद्रवेणी सडक अबरुद्ध हुने भएपछि त्यसको बैकल्पिक व्यवस्थागर्न आज तम्घासमा बसेको सर्वपक्षिय बैठकले गौंडाकोट जुभुङ्ग मजुवा खण्डमा तत्काल बस र ट्रक संचालन गर्न सक्ने गरी मर्मत तथा निर्माण गर्न सडक डिभिजन कार्यालय पाल्पालाई अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षतामा बसेको बैठकले बैकल्पिक बाटोको रुपमा रातामाटा, ग्वादी रिमुवा रुद्रवेणी सडकलाई समेत मर्मत गर्ने र स्याङजाको मिर्मि हुँदै गुल्मीको हर्मिचौर पाँदी रुद्रवेणी सडकमा समेत बस ट्रक संचालन गर्ने गरी थप मर्मत गर्न जिविसलाई आग्रह गरेको छ ।
 
बैठकमा नेपाली कांग्रेसका विष्णु बलाल, एमालेका सोमनाथ सापकोटा, एमाओवादीका अशोक थापा, राप्रपाका भरतबहादुर चन्द, जनमोर्चाका अध्यक्ष जिवन राना, नेकपा माओवादीका बिरबहादुर कार्की, सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख इन्जिनियर कर्णबहादुर रानाभाट, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, इन्जिनियर प्रकाश पौडेल, प्रहरी नायव उपरिक्षक राजकुमार लम्साल पत्रकार घनश्याम गौतम, गौडाकोट मजुवा शान्तिपुर सडक उपभोक्ता समितिका अध्यक्ष चेतन बस्नेत लगायतको उपस्थिती रहेको थियो । 
 
बैठकले गौडाकोट मजुवा सडकमा तत्काल ठुला सवारी साधन संचालन गर्नका लागि मर्मत गर्न आवश्यक पर्ने ३० लाख रुपैंया बजेट जुटाउन राजनीतिक दलहरु काठमाण्डौ जाने र सडक डिभिजन कार्यालय पाल्पाले यसै साता देखि नै काम शुरु गर्ने निर्णय गरेको छ ।