रोल नम्बर १३ नभन्नू !

विशाल भट्टराई
गुल्मी, वैशाख १३
 
रोल नम्बर – बिद्यार्थीको परिचय । प्रत्येक बिद्यालयमा क्रम संख्या मिलाएरै बिद्यार्थीहरुको रोल नम्बर कायम गरिन्छ । अर्थात कुनैपनि बिद्यालयको हाजिर रजिष्टरमा अंक नबिराई बिद्यार्थीलाई परिचय दिलाईएको हुन्छ । बिहानै १० बज्ने बित्तिकै बिद्यार्थीहरुले आफ्नो रोल नम्बर अनुसारको उपस्थिति जनाउँछन् । तर यहाँको एउटा बिद्यालयको हाजिरी रजिष्टरमा रोल नम्बर १३ नलेखिएको ३८ बर्ष भयो । तम्घासको महेन्द्र उच्च माध्यमिक बिद्यालयमा कक्षा ९ का बिद्यार्थीले रोल नम्बर १३ सुनेका छैनन् । 
 
कक्षा ९ का बिद्यार्थी मात्र हैन् शिक्षकहरु पनि रोल नम्बर १३ बाट बेखबर छन् ! बिद्यालयका बिद्यार्थी र शिक्षक दुबै रोल नम्बर १३ नभन्न अभ्यस्त भईसकेका छन् । ‘म यो बिद्यालयमा २०५९ सालमा आएर ६० साल देखि कक्षा ९ को कक्षा शिक्षक छु, रोल नम्बर १३ नभन्न अभ्यस्तनै भएको छु’ कक्षा ९ का कक्षा शिक्षक कृष्ण कार्की भन्नुहुन्छ ‘अब त मैले शायद अरु कक्षा हाजिर गर्न पनि सक्दिन होला ।’ उहाँले आफू उक्त बिद्यालयमा रहुन्जेल सम्म अरु कक्षाको कक्षा शिक्षक नबनाउन पनि बिद्यालय प्रशाशनलाई आग्रह गरेका छन् । ‘बानी परिसक्यो अहिले कक्षामा १३ भन्नै आउँदैन्’ कार्कील थप्नुभयो ‘अरु कक्षामा गएर हाजिर गर्नुप¥यो भने असहज लाग्छ ।’
 
२०३२ सालमा देखि बिद्यालयमा रोल नम्बर १३ लेख्न छोडिएको हो । बिद्यालयमा रोल नम्बर १३ लेख्न छोडेको ३८ बर्ष भयो, अहिले सम्म कुनैपनि अविभावकले आफ्नो छोराछोरीलाई रोल नम्बर १३ मा भर्ना पनि गराएका छैनन् । बिद्यालयले त भर्नानै गर्दैन् । विद्यालयको कक्षा ९ को रोल्न १३ मा कुनै विद्यार्थीको नाम लेखिन्न । उक्त कक्षामा १२ पछि एकैपटक १४ आउँछ । विभिन्न समयमा रोल नम्बर १३ भएका ३ जना बिद्यार्थीको मृत्यु भएपछि बिद्यालयले रोल नम्बर १३ लेख्न छोडेको हो ।
 
 ‘बिद्यालयमा रोल नम्बर १३ भएका बिद्यार्थीहरु छोटो समयमै भटाभट मर्न थालेपछि हामीले उक्त रोल नम्बर लेख्न छोडेका हौँ’ बिद्यालयका पूर्व प्राचार्य पदम प्रसाद पन्थीले भन्नुभयो ‘अहिले पनि बिद्यालयमा १३  रोल नम्बर लेखेको मैले थाहा पाएको छैन् ।’ उहाँले बिद्यार्थीहरुको मृत्यु भएपछि बिद्यालयका शिक्षकहरुबिच आपसी सल्लाह हुँदा रोल नम्बर १३ नलेख्ने निर्णय भएको बताउनुभयो । 
२००९ मा स्थापना भएको महेन्द्र उच्च माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीमध्ये अहिलेसम्म विभिन्न कारणले १३ रोल्न नम्बर भएका तीन जना विद्यार्थीको मृत्यु भएको बिद्यालयको अभिलेख छ । बिद्यालयका अनुसार कक्षा ९ मा १३ रोल्न नम्बर भएका गुल्मीकै अर्खले –७ भण्डारीटोलाका ढुण्डीराज भण्डारीको २०२५ सालमा मृत्यु भएको थियो । दोस्रो पटक तम्घास–४ का जुन प्रसाद श्रेष्ठको २०३० र तम्घास–१ पुरानोवजारका कृष्णप्रसाद पाण्डेयको २०३२ साल वैशाख २७ गते विद्यालयमै परेको चट्याङ लागेर मृत्यु भएको थियो ।  
 
अन्तिम पटक चट्याङले रोल नम्बर १३ भएको बिद्यार्थीकै मृत्यु भएपछि रोल नम्बर १३ लेख्न छोडिएको बिद्यालयका प्रचार्य केशरबहादुर थापा सम्झानुहुन्छ । ‘मैले १० कक्षामा पढ्दा बिद्यालयमै परेको चट्याङले ६ जना बिद्यार्थी बेहोस भएका थिए, पछि सबै बिउँतिए रोल नम्बर १३ भएकै बिद्यार्थीको मृत्यु भयो’ सोही बिद्यालमै पढेर अहिले प्राचार्य रहेका थापाले भन्नुभयो ‘त्यसपछि एउटा परम्परा जस्तै बन्यो, अहिले सम्म पनि हामीले मेट्न सकेका छैनौँ ।’
 
उहाँले अब आफूहरुले यो परम्परा नमेट्ने पनि बताउँछन् । ‘अविभावकहरुले १३ रोल नम्बरमा भर्ना गर्नै मान्दैनन्, हामीले जबरजस्ती गर्ने कुरा भएन’ थापाले थप्नुभयो ‘यतिका बर्ष सम्म परम्परा तोडेका छैनौँ, भबिष्यमा पनि तोड्दैनौँ होला ।’ बिद्यालयमा कुनै लिखित निर्णय नभएको भएपनि उक्त रोल नम्बर नलेख्ने आपसी सहमती भएको छ । 
 
बिद्यालयको कक्षा ९ को हाजिरी रजिष्टर । तस्बिर : विशाल