(अपडेट) मृत्यु हुनेको संख्या ५ पुग्यो

img1
विशाल भट्टराई
गुल्मी, वैशाख ७
 
आज बिहान दरबारदेबिस्थान गाविसबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दरबारदेबिस्थान–८ मा लु १ ज २५२९ नम्बरको जीप दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो, एक जनाको उपचारको क्रममा ज्यान गएको हो भने अरु ३ जनाको उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउँदै गर्दा ज्यान गएको हो । 
 
दुर्घटनामा दरबारदेबिस्थान –८ का ३५ बर्षिय जीप धनी धनी महेन्द्र कुँवर, ५० बर्षकी जमुना खत्री, ८ बर्षका बालक बिवश थापा,  ४० बर्षकी चन्द्रकला सिंजाली र वलोकट –८ अर्घाखाँचीकी सानु मियाको ज्यान गएको प्रहरी निरिक्षक  निशान्त श्रीवास्तवले बताउनुभयो । बालक थापाको घटनास्थलमै मृत्यु भएको हो भने सिंजालीको उपचारको क्रममा पाल्पामा ज्यान गएको हो । अरुको तम्घासमा मृत्यु भएको हो । उकालो बाटोमा गाडिको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप धनी कुँवरलेनै गाडि चलाउनुभएको थियो । दुर्घटनामा अरु १६ जना घाईते भएका छन् । घाईते मध्य १२ जनालाई लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा रेफर गरिएको छ भने अरुको जिल्ला अस्पताल तम्घासमै उपचार भईरहेको छ । 
 
अस्पतालका अनुसार पाल्पा रेफर गरिएका ४ जनाको अवस्था गम्भिर रहेको छ । दरबार देबिस्थान–८ की ५६ बर्षकी ज्ञानकुमारी सारु, २४ बर्षकी गीता बस्नेत, ३३ बर्षकी सीता सारु, ५ बर्षीय बालक ईलेश बस्नेत, ६ बर्षकी बालीका सुभिला केसी, ४६ बर्षका दिलीप सिंजाली, २४ बर्षका बिमला घर्ति, बिमलाका १ बर्षिय छोरा प्रकाश, २० बर्षकी सबिता पौडेल, ३० बर्षकी राधा खत्री, ४० बर्षका ज्ञानबहादुर सारु र अर्खले –७ का ९ बर्षिय सुमन थापालाई जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा रेफर गरिएको जिल्ला अस्पताल तम्घासले जनाएको छ । अधिकांश घाईतेहरुको टाउकोमा चोट लागेको छ । अरु घाईतेहरुपनि अधिकांश दरबारदेबिस्थानकै छन् । एउटै गाउँमा धेरै जना सबारी दुर्घटनामा परेपछि दरबारदेबिस्थान गाविसमा सन्नटा छाएको छ ।
 
जीपमा २१ जना सबार थिए । उकालो बाटोमा अत्यधिक सबारीको चाँप हुँदा जीपको ब्रेक फेल भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार जीप  सडकबाट ५० मिटर तल खसेको छ ।  सदरमुकाम तम्घासबाट गाडिमा लगभग ४५ मिनेटमा घटनास्थल पुग्न सकिन्छ । गाउँमा गुड्ने जीप तथा बसहरुले सदरमुकाम तम्घासको ट्राफिक चेकिङमा बाहेक अरु बेला छतमा यात्रु राख्नाले पनि यस्ता दुर्घटना हुने गरेका छन् ।