आलेख : श्यामश्वेत जीवनमा रङ भर्दै दलित एकल महिला

विशाल भट्टराई

‘सानैमा सिउँदो पुछियो, अहिले उहाँलाई मार्ने छिमेकी मेरै अगाडि छाती ठूलो बनाएर हिँडछन्’ उनले भनिन् ‘म छोरीहरुकै भविश्यको वारेमा सोँच्छु, जेनतेन पालेँ अहिले छोरीहरुपनि स्कूल विदाको दिन गीटी कुटेर सघाउँछन् ।’

 

 १३ बर्ष अगाडि आफ्नै छिमेकीको हत्याबाट श्रीमानको मृत्यु भएपछि सुन्तली नेपालीको जीवन संघर्षमय बनेको हो । आफू र आफ्ना तीन छोरीको बाँच्ने आधार श्रीमानको निधन भएपछि उनलाई संघर्षले छोडेको छैन् । पुर्कोट दह ९ की सुन्तलीका श्रीमान ससेको घरायसी विबादका कारण आफ्नै छिमेकीको हत्याबाट मृत्यु भएको हो । भौतिक सम्पत्ती प्राय ः शून्य भएको उनको जीवन श्रीमानको मृत्युपछि अझ बढी कष्टकर बनेको छ । सधै फोहोरले कलैँटी परेको साडी र ब्लाउजमा देखिने सुन्तलीको दैनिकी ढुङ्गा, गिटि र मेलापातमा वित्छ । आफ्नै घर माथीको छिमेकीले श्रीमान्लाई मारेपछि उनी ६ महिनाकी छोरी काखमा रहँदा एकल बनेकी थिईन् ।

 
 अरुको मेलापात र मजदुरीमा उनले आफ्ना ३ बहीनी छोरीहरुलाई ठूला बनाई सकिन् । ‘लाग्थ्यो उहाँको मृत्यु भएपछि जीवनमा केही गर्न सक्दिन, यी छोरीहरुको विचल्ली हुनेभयो’ उनले विगत सम्झँदै भन्छिन ‘तर संघर्ष गर्ने हो भने जीवन आफ्नै पक्षमा हिँड्दो रहेछ । अहिले मेलापातबाटै यी सन्तानलाई ठूला बनाईसकेँ ।’ श्रीमान्को मृत्यु हुँदा ६ महिनाकी रहेकी कान्छि छोरी अहिले १३ बर्षकी छन् । श्रीमान्को मृत्यु पछि आफ्नो मुख हेर्नेबाटो छोरीहरु देखेकी उनले गिटि कुटेरै जीवीका चलाउँछिन् ।
 
 
 ‘सानैमा सिउँदो पुछियो, अहिले उहाँलाई मार्ने छिमेकी मेरै अगाडि छाती ठूलो बनाएर हिँडछन्’ उनले भनिन् ‘म छोरीहरुकै भविश्यको वारेमा सोँच्छु, जेनतेन पालेँ अहिले छोरीहरुपनि स्कूल विदाको दिन गीटी कुटेर सघाउँछन् ।’ सुन्तलीले मेलापात गरेरै हुर्काएर आफ्नी जेठी छोरीको बिहेपनि गरिदिएकी छन् । सधै अभावै अभावमा उनको दैनिकी वित्ने भएपनि हातपाखुरा बलिया हुँदा सम्म उनलाई भोकै बस्नुपर्दैन् ।
 
 सुन्तली जस्तै यहाँका थुप्रै दलित एकल महिला जिविका चलाउन विभिन्न काम गर्छन् । कोही सीप सिकेर कपडा सिलाउने, कपडा बुन्ने लगायतका काम गर्छन भने कोही आफूहरुको परम्परागत पेशामा छन् । कोही भने सुन्तलीकै जस्तो मेलापातको दैनिकीमा रमाएका छन् । समाजको हेपाहा दृष्टिकोण र जातिय छुवाछुतलाई चुनौति दिँदै यसरी दलित एकल महिला संघर्षमा अब्बल देखिएका छन् । विभिन्न कारणले श्रीमान् गुमाएका उनीहरु अहिले विभिन्न काम तथा ब्यवसाय गरेर आफ्नो गुजारा चलाईरहेका छन् । दलित भएर पनि एकल बनेका उनीहरु समाजमा रहेको प्रतिकुल वातावरण भन्दा माथी उठेर अरु एकल महिलालाई पनि शिक्षा दिन समेत सक्षम भएका छन् ।
 
ईश्मा दोहोलीकी सुन्तली विकको कथा पनि नेपालीको कथा भन्दा फरक छैन् । छिमेकीले काठको घापे प्रहार गरेर श्रीमानको हत्या गरेपछि उनको जीवन पनि संघर्षमा ढल्किएको हो । दाहोली – ५ की विक गाउँमा कटुवाल पेसा गर्छिन् । आफ्ना श्रीमान ज्यूँदो रहँदा सम्म अंगालेको पेशा अहिले उनले सम्हालेकी छन् । ४ सन्तानकी आमा रहेकी विकलाई पनि छोराछोरी पाल्नको लागी वुढ्यौलीले छोईसक्दा समेत कम्मरमा पटुकी कँसेर चिच्याउनुपर्ने बाध्यता छ । ‘सायद केहि नगरेको भए आज सम्म छोराछोरी सडकमा भिख मागेर हिँड्थे होला’ उनी भन्छिन् ‘वुढा मेरपछि हाक हाल्ने काम गरेकी थिएँ अहिलेपनि त्यहि काम जीवन चलाउने माध्यम बनेको छ ।’
 
२ वहीनी छोरीको विबाह भईसकेपनि अझै कान्छो छोरा र कान्छि छोरी उनको साथैमा छन् । ‘अव त बुढ्यौलीले पनि छोयो तर यी २ छोराछोरीको विबाह दान गर्न सम्म काम गर्न सकेँ भने राम्रै हुन्थ्यो ।’ उनले थपिन् । श्रीमानको मृत्युपछि उनले हिम्मतका साथ काम गरिरहेकी छन् । उनलाई गाउँमा कतिले हेयको दृष्टिकोणले हेर्छन भने कतिले मायाको दृष्टिकोणबाट हेर्छन् । तर उनलेपनि श्रीमानको मृत्युपछि श्यामश्वेत बनेको जीवनमा अहिले रङ भरेकी छन् ।
 
एकल महिलाको लागी जिल्लामा काम गरिरहेको संस्था मानव अधिकारको लागी एकल महिला गुल्मीकी कोषाध्यक्ष धना भण्डारी यस्ता थुप्र्रै महिलाले जिल्लामा संघर्ष गरिरहेको बताउँछिन् । समाजमा अहिलेपनि दलित महिलाको लागी प्रतिकुल वातावरण रहेकोले केहि महिला काम गर्नकै लागी पनि पछि हट्ने गरेको उनले बताईन् । ‘हामी जिल्लाका एकल महिला संगठित हुँदै छौँ, अहिले पनि एकल महिलाको लागी समाजमा राम्रो वातावरण छैन्’ उनले भनिन् ‘विस्तारै विस्तारै सवै एकल महिलाहरु आफ्नो जिविका चलाउन सक्ने बाटोमा छन् ।’
 
जिल्लामा क्रियाशिल दलित महिला संघकी अध्यक्ष कमला बरालले भने दलित महिलाहरुले गरेको संघर्षबाट अरुले पनि पाठ सिक्नुपर्ने बताउँछिन् । जिल्लामा रहेका ५० प्रतिशत भन्दा बढी एकल महिलाहरुले आफ्नै संघर्षबाट जीवन धान्न सफल भएको उनको भनाई छ । केहि एकल महिलाहरुभने समाजमा अहिले पनि जिवितै रहेको बाध्यात्मक परिस्थितिबाट माथी उठ्न सकेका छनैनन् ।